August 11, 2024
करिब ६० प्रतिशत जनसङ्ख्या कृषि पेशामा आश्रित मुलुक नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कृषि पेशामा आबद्ध हुने चासोलाई हेर्ने हो भने यो दर घट्दो देखिन्छ। करिब अधिकांश मानिसहरू यस पेशामा संलग्न भएतापनि कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वलाई करिबबाट नियाल्ने हो भने यसको अवस्था दयनीय रहेको देखिन्छ। हालसालैको तथ्याङ्कलाई हेर्ने हो भने करिब ६०% जनसङ्ख्या संलग्न यस क्षेत्रको कुलग्राहस्थ उत्पादनमा जम्मा २१.६% हिस्सा रहेको छ, जुन अन्य क्षेत्रको तुलनामा एकदमै न्यून देखिन्छ। ऊर्जाशील युवाहरूमा कृषिप्रतिको घट्दो चासो पारम्परिक र अव्यवस्थित खेती प्रणाली तथा सासाना र टुक्रे जग्गामा खेती जस्ता पद्धतिहरु निरन्तर रुपमा अनुकरण हुनु नै कृषि क्षेत्रको मुख्य निराशालाई लिन सकिन्छ।
सामान्यतया जैविक खेती भन्नाले प्राकृतिक रुपमा उपलब्ध स्रोतहरूलाई मात्र उपभोग गरी गरिने खेती प्रणालीलाई बुझ्न सकिन्छ। यस कृषि प्रणालीमा बाहिरी स्रोत तथा प्रणालीको न्यूनतम उपभोग गरिन्छ र सामान्यतया हुने खेती प्रणालीमा उपयोग हुने रसायनिक मल किटनाशक औषधिको उपयोगलाई नकारिन्छ। दैनिक जीवनमा निरन्तर रूपमा उपयोग हुँदै आएका यस्ता स्रोतहरू (रासायनिक मल कीटनाशक विषादी तथा अन्य रासायनिक हर्मोन)को प्रयोगमा रोक लगाई प्राकृतिक रुपमा प्राप्त तथा प्राकृतिक तरिकाले परिमार्जित स्रोतहरूको प्रयोग नै जैविक खेतीको विशेषता हो भन्न सकिन्छ। यस्ता रासायनिक स्रोतहरूको विकल्पमा जैविक मल जैविकृनाशक विषादीहरूको प्रयोग गरी उत्पादनयुक्त माटोको गुणलाई दिगो रुपमा स्थापित गर्नु नै जैविक खेती प्रणालीको मुख्य उद्देश्य हो। जैविक खेतीको इतिहासलाई हेर्ने हो भने जैविक खेतीको सुरुवात प्रारम्भिक १९ औँ शताब्दीमा सर एल्बर्ट हवार्ड एफएच किङ र रुडल्फ स्टेनले अवधारणाको विकास गरेको पाइन्छ।
जैविक खेती; आवश्यकता कि चाहना मात्र?
विविधतापूर्ण पारिस्थितिक प्रणालीले भरिपूर्ण देश नेपालमा उपलब्धित प्राकृतिक स्रोत तथा साधनहरूको उपयोग गरी यसैमा आधारित जैविक खेती प्रणालीको विकास गर्ने हो भने यसको प्रचुर सम्भावना देखिन्छ। मानव सभ्यताको पछिल्ला दशकहरूलाई हेर्दै आउने हो भने बढ्दो जनसङ्ख्या र यो संख्यालाई खाद्यान्नको परिपूर्ति गर्न विकास भएका स्रोत तथा साधनहरूको उपभोगले प्राकृतिक स्रोत तथा वातावरणमा ठूलो असर पर्न गएको छ। साथै उत्पादित वस्तुमा हुने विषको अवशेष र त्यसको सेवनबाट स्वास्थ्य क्षेत्रमा पर्ने दीर्घकालीन असरलाई केलाउँदै यसको विकल्पमा जैविक खेतीबारे सकारात्मक बहस छलफल तथा यसको मूल्यांकन गरिनु आजको आवश्यकता देखिन्छ।